ओली-नेपाल समूहको वार्तामा के-के भयो ? (भिडियो)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहिन भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमवार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ-आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।

सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलापहरूको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए । सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलापको प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?