काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक विभिन्न ६ वटा एजेण्डाहरु तय गर्दै स्थगित गरिएको छ ।
आजको बैठकको शुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अवस्थाबारे संक्षिप्तमा आफ्नो धारणा राखेका थिए । त्यस्तै पार्टी केन्द्रको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकताको उदेश्य र मर्ममाथि कसरी आक्रमण भयो भन्नेबारेमा चर्चा गरेका थिए ।
आजको बैठकमा पार्टीको वर्तमान अवस्थाका बारेमा प्रदेश कमिटीका इन्चार्ज तथा सहइन्चार्जहरुले रिपोर्टिङ गरेका छन् ।
जसअनुसार प्रदेश कमिटीको तर्फबाट क्रमशः प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसपछि उपत्यका विशेष कमिटीको तर्फबाट इन्चार्ज लिलामणी पोखरेल, प्रदेश सम्पर्क सम्न्वय समितिको तर्फबाट प्रलाद बुढाथोकी, प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईले वर्तमान अवस्थाको बारेमा रिपोर्टिङ गरेका छन् ।
त्यस्तै आजको बैठकले विभिन्न ६ वटा एजेण्डाहरु तय गरेको छ । जसमा पार्टी कमिटीबाट रिपोर्टिङ गर्ने देखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका एजेण्डाहरु तय भएका छन् ।
आजको बैठकले शहीदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा तय गरिएको हो ।
त्यस्तै भोली बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणाहरु राख्ने नेता श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रको अर्को बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया