अम्बानीको घरबाहिर विस्फोटक पदार्थसहितको गाडी राखेको आरोपमा एक प्रहरी पक्राउ

काठमाडौं । भारतीय व्यवसायी तथा अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित घर बाहिर विस्फोटक पदार्थले भरिएको गाडी राखेको घटनामा संलग्न एक प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुम्बई प्रहरीका अधिकारी सचिन वेज रहेका छन् ।

वेजलाई नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले हिजो शनिवार १२ घन्टा सोधपुछ गरेपछि उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटक पदार्थले भरिएको गाडी राखेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको एनआइएका प्रवक्ताले बताए ।

गत फेब्रुअरी २५ मा अम्बानीको घरनजिकै जिलाटिन स्टिकले भरिएको एक गाडी फेला परेको थियो । उक्त गाडीमा धम्कीसहितको पत्र पनि भेटिएको थियो ।

अम्बानीको घरअगाडि भेटिएको गाडी हराएको भन्दै मन्सुख हिरन नामका व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए । उनी मार्च ५ मा मृत फेला परेपछि यसको अनुसन्धान एनआइएले गर्न थालेको थियो । मृतक हिरनकी श्रीमतीले उक्त गाडी गत नोभेम्बरमा वेजलाई दिएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?