अवैधरुपमा कालीगण्डकी नदी दोहन,सम्बन्धित निकाय भने यो विषयमा मौन

RSS
0
Shares

म्याग्दी- आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै गएको छ । धर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आएपनि सम्बन्धित निकाय भने यो वियामा मौन रहेका छन् ।

अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा गर्दै गएको स्थानीयहरुको भनाइ छ । नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताए ।

प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन् । व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन् । हेभी इक्वीपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौंदेखि रहेका ठूला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ । यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ ।

नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठूला मेशिन लगाएर दोहन गरिरहेका स्थानीयहरु बताउँछन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व सङ्कटमा पर्नुको साथै सौन्दर्यसमेत गुम्दै गएको छ । व्यवसायीले रातको समयमा समेत नदी उत्खनन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?