रसुवामा छ सयभन्दा बढी अपाङ्गलाई परिचयपत्र वितरण

RSS
0
Shares

रसुवा- जिल्लामा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्ने उद्देश्यले परिचय वितरण कार्य अगाडि बढेको छ । अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३ सय ७१ महिलासहित ६ सय २५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय पत्र प्रदान गरिसकेको छ ।

पछिल्लो आँकलन अनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ ।

यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकार एवं क्षमता विस्तार गरी आत्म मनोबल उच्च पार्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम अगाडि बढिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?