बारामा टाउको नभएको अवस्थामा भेटियो शव, तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं । बारामा टाउको नभएको अवस्थामा शव फेला परेको छ ।

बाराको जितपुर सिमरा-१० मा शुक्रवार (आज) बिहान एक जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट घटनास्थलमा खटिएका डीएसपी गौतम मिश्रले लोकपथलाई दिएको जानकारी अनुसार अहिलेसम्म प्रहरीले उक्त शव छोएको छैन ।

उनका अनुसार बिहान पौन ८ बजे (७ः४५) को समयमा एक स्थानीय महिलाले उक्त शव देखेर प्रहरीलाई खबर गरेकी थिइन् । खबर आउनासाथ सवा ८ बजेको समयमा प्रहरी घटनास्थल पुगेको थियो । शव छोइनसकेकोले अहिले कस्को हो भन्ने भन्न नसकिने डीएसपी मिश्रले लोकपथलाई जानकारी दिए ।

‘आज बिहान ७ः ४५ बजेतिर एक महिलाले शव भेटियो भनेर खबर गर्नुभयो । सवा ८ बजेतिर प्रहरी घटनास्थल पुगेको र अनुसन्धान भइरहेको छ । शव कसको हो भन्ने विषयमा छानविन भइरहेको छ ।’ डीएसपी मिश्रले भने ।

उनका अनुसार केहीदिन अघि एक बालक हराएको र खोजतलासको लागि भन्दै प्रहरीमा उजुरी आएको तर शवको प्रकृती हेर्दा वयस्क भएकाले ती बालकको नहुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

‘केही दिन अघि एक बालक हराएको र खोजतलासको लागि उजुरी परेको थियो । शुरुमा ती बालकको हो कि भन्ने आशंका गरिएको थियो । तर शवको प्रकृती हेर्दा वयस्कको भएकाले ती बालकको शव नहुन पनि सक्छ ।’ उनले भने ।

हाल घटनाको बारेमा अनुसन्धानको लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । कुकुरले अनुसन्धान गरेपछि मात्रै प्रहरीले अरु अनुसन्धानको प्रक्रिया थालिने डीएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?