काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए। जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ। आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ। कार्यदलस्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।
सपासँग छलफलका लागि नेकपा (एमाले)का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ। यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ।
सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ। प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया