अछामको तिमिल्सैनमा आज भव्य दशैँमेला

अछाम, १९ असोज ९ ।कोजाग्रत पूर्णिमाको दिन आज जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनमा भव्य दशैँमेला लाग्ने भएको छ ।शदिऔँदेखि तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलिसहित दशैँमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउलेलगायत खेलमालका कार्यक्रम हुने गर्दछन् भने स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ ।भक्तजनले पूजापाठसँगै आफूले भाकल गरेका राँगा बोकाको बलिसमेत चढाउने गर्दछन् । तिमिल्सैनको दशैँमेलामा राँगा बोका बलि दिएर पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक आस्थाअनुसार परापूर्व कालदेखिनै त्यहाँ बलि दिइने गरिन्छ ।कोजाग्रत पूर्णिमाको दिन पूजापाठसहित मुख्य मेलाको समेत आयोजना गरिएको तिमिल्सैनका स्थानीय अगुवा तथा तिमिल्सेना समाजका अध्यक्ष तिलक खत्री तिमिल्सेनाले जानकारी दिए ।तिमिल्सैनको दशैँमा विगत २०६७ सालदेखि बलि नचढाउने निर्णय गरिसकिएको भएता पनि बलिप्रथा अझै हट्न सकेको छैन । तिमिल्सैनका स्थानीयले सो निर्णयपछि बलि नचढाए पनि अन्य ठाउँबाट भाकल गरेकाले बलि चढाइरहेको पाइएको छ । केही व्यक्तिले धेरै समय अघिनै भाकल गरेकाले आआफ्नै तरिकाले बलि चढाउने गरेको बताइएको छ ।दशैँ मेलाको अवसरमा वरदादेवीको पूजापाठका साथै रातभरि देउडा, न्याउलेलगायत स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।अछाममा मनाइने ठूला दशैँमेलामध्येको तिमिल्सैनको दशैँ सकिएको ठीक एक महिनापछि बान्नीगढी जयगढ गाउँपालिकाकै वडा नम्बर १ गाजरामा पनि भव्य दशैँमेला लाग्ने गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?