काठमाडौं । सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा असमान मापदण्डका आधारमा आवेदन माग गरेको छ ।
‘स्वास्थ्य मन्त्रालय आबद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ का आधारमा पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवेदन माग गरेको हो । मन्त्रालयले यही फागुन २४ गते सूचना प्रकाशन गरी ती प्रतिष्ठानका रिक्त पदमा सात दिनभित्र निवेदन दिन आह्वान गरेको छ । निवेदनका साथमा मन्त्रालयले आफ्नो व्यावसायिक कार्ययोजनासमेत पेश गर्न भनेको छ ।
सो मापदण्डअनुसार पाटन र पोखराका उपकुलपतिका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह प्राप्त गरी प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा ११औं तहमा काम गरेको’ हुनुपर्ने प्राबधान छ । यसैगरी कर्णालीका लागि भने मापदण्डभित्र ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर प्राप्त गरी सहप्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा कम्तीमा १०औं तहमा काम गरेको हुनुपर्ने’ छ ।
समान प्रतिष्ठानका समान पदका लागि असमान मापदण्डका आधारमा उपकुलपतिजस्तो उच्च गरिमामय पदमा आवेदन माग गरिएकामा सरोकार निकायले आपत्ति जनाउँदै समान मापदण्ड बनाउन मागसमेत गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत वरिष्ठ चिकित्सकले ‘अन्य प्रतिष्ठानसरह कर्णालीलाई व्यवहार गर्न’ सरकारलाई आह्वान गरेका छन् । आफ्नो नाम प्रकाशन नगर्ने शर्तमा एक चिकित्सकले भने, “स्वास्थ्य प्रतिष्ठानका काम समान हुन् । मन्त्रालयका नीतिअनुसार स्वायत्त रुपमा सञ्चालन हुने निकाय हुन् । सरकारले प्रतिष्ठानलाई हेर्ने दृष्टिकोण पनि समान मापदण्डका आधारमा तय गरिनुपर्छ । प्रतिष्ठानमा कार्यरत वरिष्ठ प्राध्यापकहरुबाटै उपकुलपति नियुक्ति हुनुपर्छ । कर्णालीलाई मात्र किन असमान मापदण्ड ?”
शैक्षिक कार्यक्रम सञ्चालन, सिट निर्धारण, पूर्वाधार विकास, बजेट विनियोजन, अस्पतालका स्तोन्नतिलगायत क्षेत्रमा कर्णालीलाई सङ्घीय सरकारले विभेद गर्दै आएको उनीहरुको गुनासो छ । स्वास्थ्य प्रतिष्ठान तथा क्षेत्रीय अस्पताल सङ्घीय सरकारअन्तर्गत रहने प्रावधान छ ।
पहिलोपटक मन्त्रालयले सोही मापदण्डका आधारमा विसं २०७३ फागुनमा ती प्रतिष्ठानका ती पदमा नियुक्त गरेको थियो । यही फागुन १५ मा चारवर्षे कार्यकाल पूरा गरेका निवर्तमान उपकुलपतित्रय क्रमशः पाटनका डा. भरतकुमार यादव, पोखराका डा. बुद्धिबहादुर थापा र कर्णालीका डा. राजेन्द्रराज वाग्ले चिकित्साशास्त्रका अब्बल प्राध्यापक छन् । तत्कालीन समयमा सरकारले राजनीतिक सहमतिका आधारमा उपकुलपति नियुक्त गरे पनि उनीहरुले प्रतिष्ठानको प्राज्ञिक तथा स्वास्थ्य सेवा सुधारका लागि कोशेढुङ्गाको काम गरेकोे बताइएको छ ।
जुम्लामा पहिलोपटक एमडिजिपीको अध्ययनअध्यापन शुरुवात भइसकेको छ भने प्रतिष्ठान एमबिबिएसका लागि चिकित्सा शिक्षा आयोगको स्वीकृतिको पर्खाइमा छ । यसअघि प्रतिष्ठानमा नर्सिङ विषयका प्रमाणपत्र तथा स्नातकका साथै स्नातक तहका जनस्वास्थ्य र मिडवाइफ विषयको पठनपाठन हुँदै आएको छ । बिफर्मा पठनपाठनका लागि पाठ्यक्रम तयारीसमेत गरिएको जनाइएको छ । प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले विशेषज्ञ सेवा प्रदान गरिरहेको छ भने सुर्खेत अथवा नेपालगञ्जमा बिरामीलाई सिफारिस गर्न छाडेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. वाग्लेले भने, “कर्णालीमा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधारका जग बसेको छ । आगामी दिनमा यसलाई अझ सुदृढ बनाउन सक्षम नीति र नेतृत्व आवश्यक छ ।”
जुम्ला अस्पतालमा तत्कालीन समयमा कोभिड–१९ परीक्षणका गर्न पीसीआर उपकरण जडान गरी उपचार सेवा प्रदान गरिएको थियो । घरघरमा स्वाब संकलन गरिएको सो सेवालाई कर्णालीवासीले अपनत्व लिई प्रतिष्ठानको कामलाई उच्च सराहनासमेत गरेका थिए । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भने, “प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्णालीका दुर्गम क्षेत्रमा सेवारत हुनुहुन्छ । स्थानीय पालिकाहरुसँग प्रतिष्ठानका स्वास्थ्यकर्मीका सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । यसले विशेषगरी गर्भवती, बालबालिका तथा वृद्धावृद्धाका स्वास्थ्य सेवामा सहयोग पुर्याएको छ ।”
यसैबीच मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति पदको जिम्मेवारी सहप्राध्यापक डा मङ्गल रावललाई दिएको छ । जुम्ला अस्पतालका निर्देशकका रूपमा कार्यरत उनी हाडजोर्नी विशेषज्ञ हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा. डा. राजेशनाथ गङ्गोललाई दिइएको छ । प्रतिष्ठानका रेक्टरमा कार्यरत उनी सर्जन हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नरेन्द्रविक्रम गुरुङ हुन् । प्रतिष्ठानको डिनका रुपमा कार्यरत उनी सर्जन हुन् ।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको अध्यक्षतामा गठन भएको सर्च कमिटीले तीन जनाको नाम प्रतिष्ठानको कुलपति प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने छ । प्रतिष्ठानका सहकुलपतिका सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिले प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया