प्रदेश नं ७ मा १४ लाख मतदाता

 बैतडी, १९ असोज ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८३४ मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रोलिंगी रहेका छन् भने बाजुरामा ३५ हजार १४७ पुरुष, ३४ हजार ६८५ महिला र दुई तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । दार्चुलामा ३९ हजार ५८५ पुरुष, ३८ हजार ९२७ महिला गरी ७८ हजार ५१२ रहेका छन् ।डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी ८१ हजार ७३२ र बझाङमा ५१ हजार २७१ पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रोलिंगी गरी एकलाख चारहजार २७५ मतदाता रहेका जनाइएको छ ।यस्तै, कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५, अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ र डोटीमा ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला मतदाता रहेका छन् ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ ।मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ ।निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामा ७७ लाख ७६ हजार ४९६ पुरुष, ७६ लाख ५१ हजार ६५ महिला र १७० तेस्रो लिंगी गरी जम्मा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?