भारतद्वारा गोरखा जिल्लामा विद्यालयको निर्माण सम्पन्न

काठमाडौं । भारतको सहयोगमा निर्मित श्री हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको आज(बुधवार) उद्घाटन गरिएको छ । गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गस्थित श्री हिमालय माध्यमिक विद्यालयको आज संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
भारतीय राजदूतावासका प्रशासन प्रमुख श्री करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट भवनको संयुक्त रुपमा उद्घाटन भएको हो ।

भारत सरकारद्वारा ४ करोड ३३ लाख आर्थिक सहयोगमा निर्मित तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहने भारतीय राजदूतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् १९६० मा स्थापित श्री हिमालय माध्यमिक विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा करिब २५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई क्षमतालाई अझ अभिवृद्धि गर्ने विद्यालय प्रशासनको अपेक्षा रहेको छ ।

विज्ञप्ति अनुसार सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् ।

त्यसैगरी, वि.सं २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसिर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ । भारतले गोरखामा भूकम्पले क्षति पु¥याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?