काठमाडौं- सत्ता समीकरणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता बढेको छ।
आज (मंगलवार) बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि नयाँ सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।
त्यसलगत्तै अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । भेटमा सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने/नल्याउने विषयमा छलफल भएको छ । उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
देउवालाई भेटेर फर्केलगत्तै प्रचण्ड जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्यको विषयमा निर्णय गर्ने जिम्मा पाँच जना शीर्ष नेतालाई दिएको छ। मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारका सहभागी हुने/नहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पार्टीका पाँच शीर्ष नेतालाई जिम्मा दिएको हो।
बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राईलाई जिम्मेवारी दिएको हो।
उता नेकपा एमालेले पनि दुई सदस्यीय वार्ता समिति गठन गरी काम शुरू गरिसकेको छ । नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलको टोलीले जसपाका वार्ता टोली लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसंग पहिलो चरणको छलफल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया