जसपा: सत्ता सहकार्यको विषयमा निर्णय गर्ने जिम्मा पाँच नेतालाई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्यको विषयमा निर्णय गर्ने जिम्मा पाँच जना शीर्ष नेतालाई दिएको छ।मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारका सहभागी हुने/नहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पार्टीका पाँच शीर्ष नेतालाई जिम्मा दिएको हो ।

बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राईलाई जिम्मेवारी दिएको हो।

बैठकमा बोलेका करिब ९० प्रतिशत सांसदले सत्ता सहकार्यलाई प्राथमिकतामा नराख्न सुझाव दिएको जसपाका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले बताए।  राईले जेलमा रहेका आफ्नो पार्टीका नेता र कार्यकर्ताको रिहाई, झुटा मुद्दा खारेजी, सहिद परिवारलाई क्षतिपूर्ति, संविधान संशोधन लगायतका मुद्दामा सरकार र सबै दलसँग संवाद गर्न कार्यदल बनाउने पनि बताए ।

यस्तै जनता समाजवादी पार्टीले दलहरुसँग वार्ता गर्न वार्ता टोली बनाउने भएको छ ।

आजै सांसद लक्ष्मणलाल कर्णसहित मोहम्मद इस्तियाक राईले एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईसँग छलफल गरेका थिए।

आजै मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि नयाँ सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिनिधिसभामा जसपाको ३४ जना सांसद छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?