छड्के निरीक्षणमा उत्रियो बीमा समिति : सामान्य गल्ती सुधार्न निर्देशन, ठूलो गल्तीलाई कारवाही !

लोकपथ
0
Shares

काठमाडौं – बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति निरीक्षणमा आक्रामक रुपमा उत्रिएको छ । समितिमा नयाँ अध्यक्ष आएसँगै फिल्ड निरीक्षणलाई तिव्र पारिएको हो । समितिले गर्ने यो निरीक्षण नियमित नै हो । गत फागुन देखि नै कोरोना भाइरस‘ कोभिड १९’ को संक्रमण बढ्न थालेपछि नियमित रुपमा भइरहने ‘फिल्ड निरीक्षण’  प्रभावित भएको थियो । कोरोना भाइरसको संक्रमण केही कम भएसँगै समितिले फिल्ड निरीक्षणलाई तिव्रता दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिले नियमित कामको रुपमा विभिन्न कम्पनीहरुमा समूह बनाएर निरीक्षण गरिरहेको छ । बीमा कम्पनीहरुलाई थाहा नै नदिइकन पनि छड्के निरीक्षण गर्न सक्ने समितिले जनाएको छ । गत वर्षताका समितिले गरेका निरीक्षणहरु प्रभावकारी नभएको गुनासो आइरहेका बेला समितिले यसपालीको निरीक्षण तिब्र बनाएको हो ।

कम्पनीहरुले तथ्याङ्क लुकाउन सक्ने भन्दै समितिले पूर्वजानकारी नदिइकनै निरीक्षण गर्न लागेको हो । ‘पूर्व जानकारी दिएर वा आकस्मिक,दुवै तरिकाबाट निरीक्षण हुन सक्छ ।’ कार्यकारी निर्देशक पौडलले लोकपथसँग भने ।

हालसम्म समितिले नेको, सिद्धार्थ इन्स्योरेन्स कम्पनी सहित आधा दर्जन जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको निरीक्षण गरिसकेको छ । निरीक्षण गरिएका यी कम्पनीहरुमा केही समस्या देखिएको र उनीहरुलाई सुधारका लागि निर्देशन समेत दिइएको उनले बताए । ‘एक पटक निरीक्षण गरिसकेपछि थप सुधार भयो कि भएन भनेर एक महिनापछि पुनःसोही कम्पनीमा निरीक्षण हुन्छ ।’ कार्यकारी अधिकृत पौडेलले भने । समितिले गत दुई सातादेखि निरीक्षण कार्य शुरु गरेको थियो ।

समितिले निरीक्षणमा कम्पनीको अण्डर राइटिङ, सुशासन, दाबी, पुनर्बीमा, वित्तीय विवरण, खरिद प्रकृया, समितिले जारी गरेका बिभिन्न निर्देशन पालनाको अवस्था, सम्पत्तीको सदुपयोग, सम्पत्ती शुद्धिकरण लगायतका विभिन्न सूचकहरुको अनुगमन गरिने जनाएको छ । बीमा कम्पनीहरुमा विभिन्न विकृती देखा परेकाले कस्ता खालका विकृति छन् भनेर जान्न पनि समितिले निरीक्षणलाई तिव्र बनाएको पौडेलले बताए । समान्य गल्ती रहेछ भने तत्काल सुधार गर्न निर्देशन दिने तथा जटिल खालका समस्या भएको भए कानून बमोजिम कारवाही गरिने कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले यसअघि बीमा क्षेत्रलाई स्वस्थ राख्न सम्पूर्ण निर्देशकहरुलाई बीमा कम्पनीहरुको नियमित निरीक्षण गर्न निर्देशन दिएका थिए । अध्यक्षको निर्देशन अनुसार समितिले बीमा कम्पनीहरुको निरीक्षण  शुरु गरेको हो । त्यसका साथै अभिकर्ताहरुको तथ्यांक,उनीहरुको कामको अवस्था, प्रथम बीमा पोलिसीको बिक्री लगायतका विषयमा निरीक्षण गरिरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?