काठमाडौं । चारपटकसम्म विश्व कीर्तिमानी कायम गर्न सफल दिनेश सुनारले पार्कर खेलमा पुनः अर्को कीर्तिमानी कायम गरेका छन् । गत आइतवार सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा भएको कार्यक्रममा सुनारले पाँचौ पटक पार्कर खेलकै अर्को विधामा नयाँ विश्व कीर्तिमानी कायम गरेका हुन् ।
सुनारले ‘द मोस्ट स्ट्यान्डिङ फुल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ विधामा ३० सेकेण्डमा १३ पटकसम्म ‘ट्वीस्ट ब्याक समरसल्ट’ गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम पाँचौं पटक लेखाएका छन् । यस विधामा विश्व रेकर्ड कायम गर्नका लागि ३० सेकेन्डमा ८ पटकसम्म ‘ट्वीस्ट ब्याक समरसल्ट’ गर्नुपर्ने थियो ।

कार्यक्रममा समाजका विशिष्ट व्यक्तित्वहरु ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटनिज कम्युनिटी एशोसियसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष श्री आकाश खतिवडा र सनसाइनका प्रोप्राइटर कौशिला खनाल कर्मचार्य लगायत अन्यको उपस्थिति रहेको थियो।
सन् २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेशलाई सानो छँदा गाउँमा पार गरेको उकालीओह्राली, बाख्रा चराउन जाँदा छिचोलेको गोरेटो र ढिस्कोहरुले नै यस खेलप्रति गहिरो रुचि जगायो । त्यसवेला उनलाई ‘जिमिनास्टिक’खेलको बारेमा ज्ञान थिएन । आफूले गरिरहेको संघर्षले एकदिन विश्वव्यापी ख्याति कमाउँछ भन्ने पनि थाहा थिएन । उनको कलाको पहिचान गरेर खेलप्रति प्रोत्साहन गर्ने काम गरे तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनदकुमार बस्नेतले ।
त्यसपछि उनले चार पटकसम्म विश्व कीर्तिमानी राखे । पहिलो किर्तिमानी ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमानी ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो कीर्तिमानी राखिसकेका छन् सुनारले । त्यसपछि उनको खातामा नयाँ कीर्तिमानी थपियो , ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ को । उनले ट्राम्पोलिनमा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमानी बनाएका थिए ।

खेलको विधामा ५ पटकसम्म विश्व कीर्तिमानी राख्ने आफू मात्रै भएको उनले बताए ।
निकै वर्ष सशस्त्र प्रहरी बलमा रही सेवा पुर्याएका दिनेशले अहिले जागिरबाट राजीनामा दिइसकेका छन् । उनको पूरै ध्यान खेलप्रति नै केन्द्रित रहने बताउँछन् उनी । खेलमार्फत् नै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउन उनी एक प्रसिद्ध अमेरिकी रियालिटी शो अमेरिकाज् गट् ट्यालेन्टमा प्रतिस्पर्धाका लागि छनोट भएर उक्त प्रतियोगितामा भाग लिन अमेरिका पुगेका थिए ।

सुनारले हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता नेपाली फिल्ममास्टन्ट म्यानको भूुमिका पनि निर्वाह गरिसकेका छन् ।
हेर्नुहोस् केही समयअघि लोकपथले दिनेश सुनारको जीवनकथा समेटेर बनाएको भिडियो सामाग्रीः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया