बेलौरीमा प्रहरीको गोली लागेर मृत्यु भएका भारतीयको शव आफन्तलाई बुझाउने तयारी

लोकपथ
0
Shares

काठमाडौं । कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीवार साँझ प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय गोबिन्द सिंहको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।

लागूऔषध र नक्कली नोट बनाउने मेसिन सहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले लोकपथलाई बताए ।

घटना लगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्पर्क आएपछि मृतकको पहिचान खुलेको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी सहितको टोलीले आज बिहान घटनास्थलको स्थलगत अनुगमन गरेको छ ।

“हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौँ”, प्रवक्ता थापाले भने, “शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।” भारतीय पक्ष सित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षण पछि आफन्तको जिम्मा लगाइने जानकारी दिए ।

  • त्यो साँझ के भएको थियो ?

स्थान : कञ्चनपुरको बेलौरी नगरपालिका – ७
समय :  बिहिवार बेलुका साँझ ६: ३० बजे 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बेलौरीको प्रहरी टोली नियमित गस्ती गरिरहेको थियो । नेपाल भारत सिमानाकाबाट ४ जना भारतीय पैदल नेपाल आउँदै थिए ।

प्रहरीलाई उनीहरुको गतिविधि शंकाष्पद लागेपछि प्रहरीले उनीहरुलाई चेकजाँच गर्न खोज्यो । सोहि क्रममा उनीहरुले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाए । गोली चलेपछि प्रहरीले जवाफी फायरिङ गर्‍यो ।

प्रहरी र तस्करबीच केही राउण्ड फायरिङ पछि एकजना भारतीयको मृत्यु भयो । फायरिङमा नेपाल प्रहरी जवान विर सिंह साउद घाइते भए । घाइते साउदको घुँडा र खुट्टामा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

प्रहरीको गोली लागेर ४ जना भारतीय मध्ये एक जनाको मृत्यु भएपछि बाँकी ३ जना भागेका थिए । मुत्यु भएका अन्दाजी २०/ २२ वर्षीय गोबिन्द सिंहको शव पोष्टमार्टमका लागि कञ्चनपुरको बेलबारीस्थित स्थानीय अस्पताल लगिएको छ ।

उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ६.५ ग्राम, ह्वाइट सुगर २.५ ग्राम ब्ल्याक पाउडर ४ ग्राम र नक्कली नोट बनाउने मेसिन २ थान, ५०० को नक्कली भारतीय नोट ३ थान बरामद गरेको डीएसपी थापाले बताए ।

फरार ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?