भारतको सहयोगमा साढे ६ करोड लगानीमा विद्यालय पुनर्निर्माण शुरु

काठमाडौं । भारतको सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण शुरु भएको छ । नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा भूमि पूजन गरी विद्यालयको पुनर्निर्माण शुरु गरिएको हो ।

भूमि पूजन कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि लगायत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

छ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको उक्त विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने जनाइएको छ । जसमा कक्षा कोठा, परीक्षा हल, प्रयोगशालाा, कम्प्युटर कक्ष, पुस्तकालय आदि सहित तीनवटा सुविधासम्पन्न ब्लकहरु हुने बताइएको छ ।

शैक्षिक क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय हो । आठवटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने काभ्रे जिल्लामा थप दुई विद्यालयको पुनर्निर्माणकालागि ठेक्का हस्तान्तरण भइसकेको छ ।

वि.सं २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले करिब ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

त्यसैगरी भारतीय दूतावासले जारी गरेको प्रेस वक्तव्य अनुसार अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरु निर्माण भइसकेका छन् भने बाँकी घरको निर्माण कार्य अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?