ऋषि कट्टेल जसले राजनीतिक कोर्स नै बदलिदिए (भिडियो रिपोर्ट)

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेपछि नेपाली राजनीतिमा फेरि नयाँ ट्वीस्ट आएको छ । आइतवार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला सुनाएसँगै नेपालको राजनैतिक माहोल फेरिएको हो ।

सर्वाेच्चको यो फैसलासँगै अब प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ। अर्थात् अदालतको यो आदेशले सत्तारुढ दल नाम बेगरको पार्टी भएको छ ।

तत्कालीन नेकपा एमाले–माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। तर त्यसबेला नेकपालाई निर्वाचन आयोगले दर्ता गर्न मानेको थिएन। त्यसअघि नै २०६९ साउनमा नेकपा आयोगमा दर्ता भइसकेको थियो। तर आयोगले दाहाल–ओलीलाई कोष्ठकभित्र नेकपा लेखेर २३ जेठ ०७५ मा दर्ता प्रमाणपत्र दिएको थियो।

आफूले दर्ता गरेको नेकपा हुँदा हुँदै अर्को नेकपा पनि दर्ता गरिएको भन्दै कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

यो फैसलापछि अब के हुन्छ ? भन्ने धेरैको प्रश्न छ । अब ओली र प्रचण्ड मिलेर नयाँ पार्टी दर्ता गर्नुपर्ने भएको छ । तर अब यो सम्भावना अत्यन्तै न्यून रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । अब उनीहरु एकीकरण पूर्वको हैसियतमा पुगे अर्थात् सूर्य चिन्ह पूर्व एमालेलाई र गोलाकारभित्रको हँसिया हथौडा पूर्व माओवादी केन्द्रलाई जानेछ । नयाँ दल दर्ताका लागि नयाँ नाम र नयाँ चुनाव चिन्ह लिएर जानुपर्ने हुन्छ ।

सत्तारुढ दलको विवादले राजनीतिक रुपमा विभाजित भएपछि एउटा पक्षको नेतृत्वमा ओली र अर्को पक्षलाई प्रचण्ड र माधवकुमार नेपाल भएका कारण दुवै पार्टीका सांसद दुवैतिर बाँडीएका थिए । सर्वोच्चको फैसलापछि एमालेका नेता माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा बादललगायतका नेताको अवस्था के हुन्छ ? भनेर जिज्ञाशा उठेको छ । यी बाहेक प्रचण्ड–माधव समूहमा पूर्व एमालेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेता छन् भने ओली पक्षमा पूर्व माओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेता छन् ।

सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्ने बताएका छन्। उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षाविपरीत आएको प्रतिक्रिया दिएका छन्।

सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अस्तित्वमा रहेको आदेश दिएपछि संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन्। २७५ सदस्यीय संघीय संसद्मा प्रतिनिधिसभामा एमालेको १२० सिट छ। कांग्रेसका ६१ सांसद छन् भने माओवादी केन्द्रका ५३ जना सांसद छन् ।

यतिवेला नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई बधाइको ओइरो लागेको छ । फैसलाको स्वागत गर्दै उनले आफ्नो पार्टीको नाम ३ वर्षसम्म प्रचार गरिदिएको भन्दै ओली र प्रचण्डलाई धन्यवाद् दिएका छन् ।

को हुन् ऋषि कट्टेल ?

२०२४ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएका कट्टेलले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका थिए। कट्टेल ०३७–०४३ सम्म नेकपा (मार्क्सवादी) का केन्द्रीय सदस्य थिए। २०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए।

२०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए, ऋषि कट्टेल। दोस्रो जनआन्दोलनपछि राजसंस्था, संघीयता, संविधानसभा जस्ता मुद्दामा मैनाली र कट्टेलबीच मतभेद देखियो । त्यसपछि उनले मैनालीलाई राजावादीसँग नजिकिएको आरोप लगाउँदै विद्रोही माले गठन गरेका थिए ।

उनले २०६९ मा आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। २०४७ माघमा माले र मार्क्सवादी बीच एकतापछि उनको राजनीतिक यात्रा एमालेमा पुगेको थियो । तर ०५४ मा साहना, सीपी मैनाली, वामदेव गौतम समूहले माले गठन गरेपछि उनी उक्त समूहमा आवद्ध भए । २०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए।

कट्टेलको पार्टी अहिले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र विश्वभक्त दुलाल ’आहुति’ नेतृत्वको दलबीच रणनैतिक संयुक्त मोर्चा बनाएर समीकरण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?