नागरिकताका लागि जनप्रतिनिधिको सहजीकरण

RSS
0
Shares

वाग्मती । मकवानपुरको विकट राक्सीराङ गाउँपालिकाका स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले संयुक्त रुपमा आइतवार जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सीराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले एकसाथ नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् ।

खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन ती सबैलाई नागरिकता दिलाएका छन् । त्यस क्षेत्रका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा स्वयं पुगेर नागरिकता प्रमाणपत्र दिलाउनमा आवश्यक सहयोग र सहजीकरण गरेका थिए ।

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँवासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । नागरिकता बनाउन बाँकी रहेकाको तथ्याङ्क सङ्कलन गरी आवश्यक कागजात समेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँवासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए ।

प्रशासन परिसरमा बसेर वडाध्यक्षहरुले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब १२० भन्दा बढी स्थानीयवासीलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए । विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनभिज्ञतालगायत कारणले असहज भएपछि आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?