२०७७, २४ फाल्गुन सोमवार ०७:४१

४० सांसद बोकेका माधव नेपाल अत्याधिक अप्ठ्यारोमा 


प्रकाशित मिति : २०७७, २४ फाल्गुन सोमवार ०७:४१

सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादीको कित्ता छुट्याइदिएपछि सबैभन्दा अप्ठ्यारोमा कोही छन् भने ती माधवकुमार नेपाल र उनको समूहमा रहेका ४० जना सांसद हुन् । गत पुस ५ गतेदेखि नेकपा विभाजन हुँदा तत्कालीन एमालेका १ सय २१ सांसद (एकको निधन) मध्ये ४० जना दाहाल–नेपाल नेतृत्वको नेकपामा थिए । तर त्यो समूहले वैधानिक विभाजनको मान्यता पाइसकेको थिएन ।

अब सर्वोच्च अदालतले पूर्वएमालेलाई एमाले र पूर्वमाओवादीलाई माओवादीकै थान्कामा बसाउने खालको निर्णय गरेपछि ओलीतिर लागेकाहरू एमाले हुन र दाहालतिरका पूर्वमाओवादी माओवादी नै बन्न तयार छन् । तर आफैंले कारबाही गरेका ओलीले नेतृत्व गरेको एमालेमा जाने या के गर्ने भन्नेबारेमा नेपाल र उनको समूह अलमलमा छ । नेपालले अदालतको फैसलाबारे आफूले अध्ययन गरिरहेको र अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए । ‘निर्वाचन आयोगले जेठ ३ गतेअघिको सन्दर्भ सकिसकेको र जेठ ३ मा निर्वाचित भएका केन्द्रीय सदस्यलाई मात्रै चिन्छौं भनेको थियो, अदालतको यस्तो फैसला आएको छ,’ नेपालले भने, ‘अहिले हामी दलविहीन अवस्थामा छौं, यस्तोमा के गर्ने कसो गर्ने भनेर छलफल गरिरहेको छु, केही न केही उपाय निस्केला ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस