२०७७, २३ फाल्गुन आईतवार १९:५१

प्रभु बैंकले दियो विद्यार्थीहरूलाई बैंकिङ साक्षरता तालिम


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १९:५१

काठमाडौं – प्रभु बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको तालामाराङ गाउँपालिकास्थित दुई विद्यालयका ५० विद्यार्थीलाई बैंकिङ साक्षरता सम्बन्धी ज्ञान प्रदान गरेको छ ।

आज तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका हुन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृतले सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए ।

उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस