सौर्यबत्ती जडानले झलमल्ल बन्यो कन्चनपुरको ‘झिलमिला ताल’

टेकसिँह धामी / धनगढी । कन्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटक आकर्षणको केन्द्र हो । ‘झिलमिला ताल’लाई पर्यटकिय गन्तव्यका रुपमा थप बिकास गर्न प्रदेश सरकारले ताल क्षेत्रमा सौर्य बत्ति जडान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बत्ति जोडेपछि झिलमिला झल्मल्ल बनेको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र झिलमिलामा सौर्य बत्ती जडान गरेपछि तालको सुन्दरता थप बढेको छ । गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन् ।

लामो समयदेखि सरकारको नजरमा नपरेको झिलमिलामा सुदूुरपश्चिम प्रदेशका पूुर्व उद्योग वन वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावलको पहलमा भौतिक पुर्वाधार विकास कार्यालयले सौर्य बत्ती जडान गरे पछि स्थानियमा खुसी छाएको छ ।

स्थानीय लाल बहादुर थापाले यस क्षेत्रको भविश्य उज्यालो हुने विश्वास व्यक्त गर्दै सडकको उन्नती र पर्यटकहरुको लागी धर्मशालाको निर्माण भए अझै सहज हुने बताए ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा महत्वपुर्ण भुमिका खेलेको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज भट्टले बताए । उनले पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको विकास र जगेर्ना गर्दै मुल प्रवाहमा ल्याउनुपर्ने समेत बताए ।

बत्ती जडानपछि ताल क्षेत्रमा आउने धार्मिक पर्यटकहरुलाई तालको सुन्दर दृश्यावलोकनको लागि सहज हुने अपेक्षा गरिएको छ । बत्ती जडानमा २७ लाख १८ हजार रुपैया खर्च भएको मन्त्रालयले जनाएको छ ।

उक्त ताल जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित छ । समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन् । यस तालले दिनमा तीन पटक रंग फेर्ने बताइन्छ ।

यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण भएकाले तालमा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?