आजबाट प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरु, के होला अविश्वासको प्रस्ताव ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आज आइतवारदेखि शुरु हुँदैछ ।संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन्।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरेको हो ।

नेकपाको आधिकारिकताका विषयमा विवाद भई दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन् । नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

दाहाल–नेपाल नेतृत्वमा रहेको नेकपा समूहले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरिएको सूचना संसद् सचिवालयलाई दिएको जानकारी गराएको छ । यद्यपि दलसम्बन्धी उक्त विवादको निरुपण भने निर्वाचन आयोगबाट मात्र हुने प्रतिनिधिसभा, सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताए। उनले भने,“दल सम्बन्धी विवादको छिनोफानो प्रतिनिधिसभाको बैठकबाट नभई निर्वाचन आयोगबाटै हुन्छ । जनताका जल्दाबल्दा आवाज सुन्ने र त्यसलाई सम्बोधन गराउने सरकारको ध्यानाकर्षणको काम भने सदनले गर्नेछ । ”

अहिले प्रतिनिधिसभामा नेकपाका सभामुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी ९जसपा०का ३२ सांसदको प्रतिनिधित्व छ । नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुईदुई सांसद अदालतको आदेशानुसार निलम्बनमा छन् ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेको ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यादेश छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुन सक्ने देखिन्छ ।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुन अघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?