पूरा भयो काठमाडौँबासीको दुई दशकको सपना

लोकपथ
0
Shares

काठमाडौँ ।

आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ ।

तीन वटा खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करिब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए । सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिएपनि एउटा तहसम्म पुगेपछि अर्काे खण्डमा पानी पुग्ने उनको भनाइ छ ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?