‘मनको आगोले घरिघरि पोलिरहन्छ’

लोकपथ
0
Shares

ताप्लेजुङ । फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उनी रुँदारुँदै थाकेकी छिन् भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँशुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ ।

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको । गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो । पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो ।

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो । तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ । मन भित्रभित्रै जलिरहेको छ । बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो ।

“बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो । आज ती आशा निराशा भएको छ । पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो”, धान जलेको खरानी हातले उठाउँदै फुची भन्छिन्, “खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो ।”

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताउँछिन् । घाम अस्ताउँदै जान्छ । विस्तारै अँध्यारो हुँदै जान्छ । अनि उनी अलिक तल सुगुरको खोरमा गएर रात बिताउँछिन् । विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उनी राहत थाप्न पनि जान सकेकी छैनन्।

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गरे । प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरे । तर, फुची त्यहाँ पुगिनन् ।
गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुगे । आगलागी भएको बजारको अवलोकन गरे । सांसद भट्टराईले फुचीलाई सोधे, “तपाईँको घर कहाँ थियो”, उनले भने, “यही थियो, अहिले यस्तो भयो ।” शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गरे।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताए। शुक्रबार बिहान सञ्जय योङयाङले खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भने, “अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो ।” उनले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएनन् । भने “अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो ।”

दोभान बजारका अर्का व्यापारी छन्, लोकेन्द्र अधिकारी । उनले व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएका थिए । बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो । उनले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो । उनले भने, “मन ठूलो भयो । बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो ।” उनको तीन घर जलेर खरानी भयो । बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो । वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो ।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ । यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो । दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो । दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ । आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताए ।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धितालको भनाइ छ । दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताए । बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गरे । विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गरे ।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भएको थियो । ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ । एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?