प्रधानमन्त्री ओलीले स्वीच दबाएपछि आयो मेलम्चीको पानी

लोकपथ
0
Shares

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए।

“मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उनले भने ।

विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उनले बताए । दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?