नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउनु हो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् ।

शनिवार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफुहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

संसदीय व्यवस्थालाई क्षति पर्‍याउने काम आफुहरुले गर्नुनहुने उनको भनाई छ । उनले भने – ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफुलाई केन्द्रीत गरौँ । हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पर्‍याउने काम हामीले नगरौँ ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखे । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए । उनले भने – ‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनैपनि कदम चाल्दाखेरी त्यसले भोली अप्ठ्यारो परिस्थिति सिर्जना गर्छकि भन्ने मलाइ चिन्ता छ । त्यो नहोस् । र मेरो चाहाना चाहिँ के हो भने २ वर्ष पछि त निर्वाचन हुने नै छ । त्यो निर्वाचनलाई हामिले सार्न सक्यौँ र त्यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडी बढेमा पक्कैपनि नेपाली कांग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताउनुभयो । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?