पार्टी नाम र चुनाव चिन्हमा कसैले कर्के नजर नलगाए हुन्छ : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरेका छन् ।

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो आग्रह गरेका हुन् ।

उनले भने “केपी ओलीलाई पनि हामी अन्तिम मौका दिईरहेका छौ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् । नभए इतिहासमा तपाई सधैभरी कलंकीत मात्रै हुनुहुनेछ । धेरै फुर्ति नदेखाउनुहोस् । तपाईका फुर्ति देखाउने दिन गए । ”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे ।

उनले भने, “कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ । विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विर्सजन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निरास हुदैनौ । केपी ओलीको कदम विरुद्ध सिंगो देश नै आन्दोलित, तरंगीत भयो । यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरुपनि आन्दोलनमा उत्रिए । ”

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको बताए ।

उनले भने “अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भईसकेपछि पनि , पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर ,सर्वोच्चको फैसला पछि पराजित भईसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनिया आश्चर्य चकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर । ”

उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए ।

उनले भने “कसैले पनि कर्के आखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओली संग अझै पनि अलमलिएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।”

नेत्रविक्रम चन्द विप्लब राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दलदोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताए ।

कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?