भोलिको प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत होला कांग्रेस ?

काठमाडौं । आइतवार (भोलि) संसद पुनर्स्थापनापछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्दैछ ।

भोलिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयलाई चासोको रुपमा हेरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन कांग्रेस केन्द्रीय समिति देखि संसदीय दलको बैठक समेत बसेको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेर कै दुविधामा अल्मलिएको छ ।

संघीय ससंद भवन नयाँ वानेश्वरमा शुक्रवार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । विहीवार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरुको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर शुक्रवार बसेको संसदीय दलमा २९ जना सांसदहरुले धारणा राखेको भएपनि राजनीतिक विषयमा लिने निर्णय बारे भने दल निष्कर्षमा पुग्न सकेन । आगामी आईतवारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए ।

उनले भने “बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ , ती सबै कुराहरुलाई गम्भीरतापुर्वक समिक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ । ”

बैठकले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ । त्यसैगरी कोभिड १९ को खोप सबैलाई दिलाउने गरि बन्दोबन्द मिलाउन र कोभिडको समय देखि बन्द भएका सिमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?