निरन्तर किन घट्दैछ सुनको भाउ ?

लोकपथ
0
Shares

नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ। शुक्रबार छापावाल सुनको मूल्य ८५ हजार छ सय रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपियाँमा कारोबार भएको छ। विगत एक साताअघि सुनको मूल्य ८८ हजार आठ सय रुपियाँ थियो। यसमा सामान्य उतारचढाव हुँदै गत १९ गतेदेखि भने निरन्तर ओरालो लाग्दै आएको हो। करिब आठ महिनापछि सुनको मूल्य ८६ हजार रुपियाँबाट तल झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा कमी आउन थालेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार नेपाली समयअनुसार बिहान साढे १० बजेको समयमा प्रतिऔँस १६९३ डलरमा कायम भएको छ भने चाँदी २५.१७ डलरमा कारोबार भएको छ।
नेपाली बजारमा भने भारतीय बजारको मूल्य पनि हेरेपछि बजार भाउ तोकिने गरेको छ। नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २५० रुपियाँमा किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा करिब ३५ रुपियाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै घट्ने अनुमान गर्न थालिएको बताउँछन् । उनका अनुसार सुन प्रतिऔँस एक हजार ६ सय डलरसम्म झर्ने पछिल्लो अनुमान छ।

उक्त तहसम्ममा झरेमा नेपाली बजारमा प्रतितोला ८० हजार रुपियाँसम्म ओर्लन सक्छ। अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले डलर मजबुत बनाउने, श्रमिकको पारिश्रमिक बढाउने, मुद्रास्फीति रोक्नेलगायतका उद्देश्यले १.९३ ट्रिलियन (२२६ खर्ब रुपियाँभन्दा बढी)को परियोजना अगाडि सारेकाले पनि सुनको मूल्य घट्न थालेको विश्लेषण गरिएको छ। त्यस्तै विश्वभर कोभिडको भ्याक्सिन पत्ता लागेका कारण पनि सुनमा भएको लगानी क्रमशः अन्यत्र जान थालेकाले बिक्रीको चाप बढेको छ।

सुनका लगानीकर्ता सुन बिक्री गरेर चाँदीमा लगानी गर्न उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताउन थालेका छन् । यसबाट सेतो धातु चाँदीको मूल्य भने बढ्ने अनुमान गरिएको छ। त्यस्तै अमेरिका र चीनबीचको ट्रेड वार केही मत्थर हुनुलाई पनि सुनको मूल्य घट्नुको कारण मानिएको छ। माग बढेपछि कालोबजारी हावी नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको र नयाँ वर्षमा हुने विवाह, व्रतबन्धलगायतका अन्य धार्मिक कार्यका लागि सुनको जोहो गर्ने ग्राहक बढ्न थालेका व्यवसायीहरूले बताएका छन्। गोरखापत्रमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?