स्मृति अक्षय कोषका लागि सहयोग

RSS
0
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगको घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व. तेजबहादुर खड्का (तेजु)को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हालसम्म कोष स्थापनाका लागि डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

प्रेस युनियनले स्व. पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । स्व. पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए ।

नगरसभामा तीन विधेयक पारित
धनगढी उपमहानगरपालिकाको शुक्रवार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ । सभाले (न्यायिक समिति कार्यविधि) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो ।

नगरप्रमुख नृपबहादुर वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिए । उनले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन निर्माण, तीन स्वास्थ्य संस्थाबाट १० वडामा नगर स्वास्थ्य केन्द्र स्थापनालगायतका पूर्वाधार विकासले गति लिएको बताए । सभामा वडले २७ विद्यालय भवन तथा शौचालय निर्माण गरिएको तथा धनगढीको बेहडाबाबा, जाखोरताल, शिवपुरीधामलगायतका धार्मिक पर्यटकीय ठाउँको गुरुयोजनाअनुसार काम भइरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?