२०७७, २२ फाल्गुन शनिवार ०७:५५

दुई दशकपछि मेलम्चीको पानी आज काठमाडौंमा झर्ने, प्रधानमन्त्री ओलीले अवलोकन गर्ने


प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिवार ०७:५५

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी आज शनिवार काठमाडौं उपत्यकामा झर्दैछ। आज दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुरुङबाट सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जनाएको छ ।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मुहानबाट २६ किलोमिटर लामो सुरुङमा पानी हालिएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने जनाइएको छ । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।

परीक्षणका क्रममा आज सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिएका छन् । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस