काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।
शुक्रवार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान प्रकट गरेको छ। यस्तै कोरोनाको खोपको कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन माग गर्ने र केही नाकाहरु अझै सञ्चालनमा नआएको भन्दै खुला गर्न मागसमेत गर्ने निर्णय कांग्रेस संसदीय दलले गरेको छ।
संसदीय दलका चार निर्णय
-प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा गत पौष ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ गते सम्मानित सर्वोच्च अदालतले बदर गरी प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेको छ। यो संविधान र लोकतन्त्रवादको विजय हो। न्यायपालिकाको निर्णयलाई नेपाली कांग्रेस संसदीय दल सम्मान गर्दै हार्दिक स्वागत गर्दछ।
-नेपालमा हाल पनि कोरोना भाईरस संक्रमणको प्रभाव रही रहेको अवस्था छ। कोभिड १९ को संक्रमणबाट आमनागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो, त्यसकारण कोेरोना विरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाडो लगाइदिने व्यवस्था गरी नेपाली जनताको जीवन रक्षा गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।
-कोभिड १९ संक्रमणको प्रारम्भीक चरण देखि नै सिमा नाकाहरु बन्द छन्। हाससम्म पनि बन्द नाकाहरु सहज तरिकाले सुचारु हुन सकेको छैन र यातायात सञ्चालनमा आएका छैनन्। जसका कारण उद्योगधन्दा, कलकारखाना र पर्यटन व्यवसायलाई मार परिरहेको छ। तसर्थ सबै नाकाहरु सहज तरिकाले सुचारु गर्ने तर्फ सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौं।
-शोक प्रस्ताव पारित : नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर के.सी., वि.स. २०५८ सालका राष्ट्रिय सभा सदस्य मजेर दिपक गुरुङ्ग, २०४८ सालमा वाग्लुङ्ग क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओमकार प्रसाद गौचन, २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित इन्द्रहाङ लिम्वू, २०५८ सालमा राष्ट्रिय सभामा निर्वाचित गंगादत्त जोशी, २०५६ सालमा चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित एकनाथ रानाभाट, २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. शंकरप्रसाद उप्रेती र २०४८ साल सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित कुवेरप्रसाद शर्माको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। उहाँहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै संसदीय दलको यो बैठक शोक प्रस्ताव पारित गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया