विप्लवको राजनीतिक कदम साहसिक भएको भन्दै प्रधानमन्त्री ओलीले गरे प्रशंसा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् ।

शुक्रवार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ओलीले जनताले शान्ति खोजेको भन्दै जनताको सो आकांक्षा पूरा भएको पनि बताए ।

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाइ भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतिको यो कदम साहसिक भएको ओलीले बताए । उनले यो विप्लवको आन्दोलन ‘फोर्स ल्याण्डिङ’ नभएर ‘सेफ ल्याण्डिङ’ भएको पनि बताए ।

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’

उनले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?