बहराइन राजपरिवारका सदस्यसहित १६ जना नेपाल आउँदै, सगरमाथा आरोहण गर्ने

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। उनीहरू आगामी चैत २ गते काठमाडौं आइपुग्ने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् । सगरमाथा आरोहण गर्न नेपाल आउने टोलीका केही सदस्यले आज बहराइनको मनामास्थित नेपाली दूतावास गई राजदूत पदम सुन्दाससँग भेट गरेका थिए।

बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती निकालेर ३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउन लागेको जनकारी गराएको हो । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने दुतावासले निकालेको विज्ञप्तीमा भनिएको छ ।

आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?