डेपुटी गभर्नरका लागि चारजना सिफारिस : कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा २ डेपुटी गभर्नरका लागि गभर्नर महाप्रसाद अधिकारीले चारजना कार्याकारी निर्देशकको नाम सिफारिस गरेका छन् । केपी ओली नेतृत्वको सरकार धरापमा परेकाले सरकारले महत्वपूर्ण निर्णय छिटो गर्न डेपुटी गभर्नर नियुक्ति गर्न लागेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको राष्ट्र बैंक स्रोतको भनाई छ । गभर्नर अधिकारले मंगलवार साँझै अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाकारका रुपमा अर्थमन्त्रालयमा काज रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ,राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंक अनुसन्धान विभागका कार्याकारी निर्देशक तथा प्रवक्ता डा।गुणाकर भट्ट र राष्ट्र बैंक ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक डा। निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस गरेको राष्ट्र बैंक स्रोतले बतायो ।

राष्ट्र बैंकमा पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ फागुन १८ गते मंगलबार विदा भइसकेका छन् ।
अभ्यासमा राजनीतिक भागवण्डा राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्ति गर्दा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति गर्ने अभ्यास गरिँदै आएको छ ।

सत्तामा हुने पाटी निकट सिनियर र विपक्षीमा हुने पार्टी निकट जुनियर पदमा नियुक्ति गरिने अभ्यास रहँदै आएको छ । यसअघिका कयौँ नियुक्तिहरु पनि राजनीतिक भागवण्डाका आधारमा गरिएका उदाहरण छन् । उदाहरणका लागि हालका डेपुटी गभर्नर द्धय शिवाकोटी र श्रेष्ठ पनि राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएका थिए । शिवाकोटी(सिनियर) तत्कालिन नेकपा एमाले र श्रेष्ठ(जुनियर) नेपाली कांग्रेसबाट नियुक्ति पाएका थिए ।

त्यस्तै, यस अघिका डेपुटी गभर्नर गोपाल काफ्ले र महाप्रसाद अधिकारी(हालका गभर्नर) पनि राजनीतिक भागवण्डाकै आधारमा नियुक्ति भएका थिए । त्यसबेला नेपालीका काग्रेंस निकटका काफ्ले सिनियर र तत्कालिन नेकपा एमाले निकट अधिकारी जुनियर डेपुटी गभर्नरका रुपमा नियुक्ति भएको थियो ।

अर्थमन्त्री पौडेलेका आर्थिक सल्लाकार श्रेष्ठ र राष्ट्र बैंकका प्रवक्ता भट्टको संभावना बढी रहेको स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले राजनीतिक समिकरण फेरिएसँगै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई पनि विश्वासमा लिनुपर्ने भएकाले काँग्रेस निकट मानिएका अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा राष्ट्र बैंकका प्रवक्ता भट्टको संभावना बढीे रहेको बताइन्छ ।

कार्य क्षमताका आधारमा डा भट्टलाई अब्बल मानिन्छ । त्यसैले उनले अनुसन्धान विभागको जिम्मेवारी पाएका थिए । कार्य कुशलताकै आधारमा राष्ट्र बैंकले डा भट्टलाई प्रवक्ता समेत बनाएको थियो । त्यसैले पनि काँग्रेतर्फबाट डा। भट्ट पर्ने संभावना प्रबल देखिन्छ ।

यद्यपि,राष्ट्र बैंकका १७ वटै कार्यकारी निर्देशकहरु सबै डेपुटी गभर्नरका प्रतिपर्धी हुन् । तर गभर्नरले कानुनी व्यवस्थाका कारण चार जनाको नाम मात्रै सिफारिस गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन,२०५८ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । गभर्नरले डेपुटी गभर्नर पदमा नियुिक्तको लागि सिफारिस गर्दा बैकका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्ने व्यवस्था छ । डेपुटी गभर्नरको पद दुईवटा भएकाले गभर्नरले कार्य क्षमताका आधारमा चार जनाको नाम सिफारिस गर्नुपर्छ । तर डेपुटी गभर्नर विलकुलै राजनीतिक नियुक्ति भएको राजनीतिक र व्यक्तिगत निकटताका आधारमा नियुक्त हुने गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर हुनका लागि नेपालको नागरिक भएको,उच्च नैतिक चरित्र भएको,आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र,गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक,बैकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?