सांसदहरुलाई खोप दिनेक्रम आज पनि जारी

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम आज (बिहिवार)पनि जारी राखिएको छ ।

हिजो (बुधवार)देखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधवार अनुपस्थित सांसदहरुलाई आज (बिहिवार) पनि खोप दिईएको छ ।

बिहिवार राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताए । परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनको भनाई छ ।

उनले भने – ‘जेष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर । झन बलियो हुन, झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ । कसैले पनि चिन्ता गर्नु पर्दैन । कुनैपनि हालतमा लगाउनुपर्छ । हाम्रो समाजको सुरक्षाको निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ ।’

बिहिवार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?