श्रद्धाञ्जली सभामै देउवा–पौडेलबीच जुहारी !

लोकपथ
0
Shares

नेपाल कम्युनिस्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञाशा सर्वत्र चर्चाको विषय बनेको छ । कांग्रेसले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन । पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन् ।पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलीसभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सत्ताको विषयलाई लिएर जुहारी चलेको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १०औं दिनको पुण्यतिथिमा चितवनमा आयोजित शोकसभामा उनीहरुबीच जुहारी चलेको हो ।

सोही श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताए । उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताए । उनले भने– ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाऊँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।’देउवाले पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भने । उनले रानाभाटको राजनीतिक संघर्षको चर्चा गर्दै एकपटक मन्त्री बनाउने आफ्नो चाहना पूरा नभएको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए। उनले भने– ‘विपक्षी दलको सही भूमिका कांग्रेसले निर्वाह गर्नुपर्छ ।’नेता पौडेलले स्व. एकनाथ रानाभाटले निष्ठावान्रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने । ‘आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको छ’, उनले भने– ‘कांग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।’ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताए । नेपाल समाचार पत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?