एउटै मञ्चमा देउवा र पौडेलको दोहोरी: प्रधानमन्त्री बन्ने देउवाको रहर, प्रतिपक्षमै बस्ने पौडेलको अडान

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा चितवनमा आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।

उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।” आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले थने, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्न जस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।”

पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उहाँले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भने । उनले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”

सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए । वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावानरुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?