नेकपा विवादबारे तत्काल निर्णय गर्न पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडाैं- नेकपा विवादबारे तत्काल निर्णय गर्न पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव, पूर्व कावा प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनीहरूले  आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गर्न आग्रह गरेका छन्।  ‘प्रचलित कानून र स्थापित नजीरहरुका आधारमा समेत यस विषयमा उपर्युक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष्य आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

उनीहरूले विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?