भारतले २४.६ करोड रुपैयाँ सहयोग गर्ने

लोकपथ
0
Shares

काठमाडौं – ललितपुर र सिन्धुपाल्चोक जिल्लामा थप तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले २४.६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि सहयोग गर्दै आएको भारतले थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्ताक्षार गरेको हो ।

काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई भवन का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

कुन – कुन हुन् तीन वटा सांस्कृतिक सम्पदा परियोजना ? 

ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन् । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई भवनले गर्ने बताइएको छ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षती पु-याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४.६ करोड रुपैयाँ लागतमा हुनेछ । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (नेरु ५ अर्ब ८० करोड) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ ।

यसै क्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाका लागि संयुक्त रुपमा भूमि पूजा गरेका थिए ।

भारतले विगतदेखि नै सांस्कृतिक सम्पदाको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । यो सहकार्यले दुई देशबीचको बलियो र ऐतिहासिक मैत्री सम्बन्धको आधारको रुपमा रहेको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्ने राजदूताबासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?