इलेक्ट्रिक स्कूटर ‘न्यू एमक्यूआई प्लस’ नेपाली बजारमा सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । इलेक्ट्रिक ब्राण्डको विश्व प्रसिद्ध स्कुटर न्यू  (NIU)  को लागि नेपालको आधिकारिक बिक्रेता इको इफिनिटी प्रालिले नयाँ मोडल नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले आज बुधवार दरबारमार्गस्थित शोरुममा एक कार्यक्रमबीच न्यू एमक्यूआई प्लस  (NIU MQi+)  लाई नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका डाइरेक्टरद्वय प्रगुन राजभण्डारी र तरुन बज्राचार्यले स्कुटर सार्वजनिक गरेका हुन् ।

NIU MQi+को नेपाल आगमनले इलेक्ट्रिक स्कुटरको बजारमा नयाँ आयाम थप्ने कम्पनीले विश्वास लिएको छ । ४५ किमीको गति प्रदान गर्ने यो स्कुटरले ६० देखि ७५ किमीको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । ६ घन्टामा ब्याट्रि फुल चार्ज गर्न सकिन्छ भने १५०० वाटको कन्टिनियस पावर प्रदान गर्छ । द्रुत गतिमा चार्ज गर्न सकिने यो स्कुटर नयाँ डिजाइनमा बजारमा आएको छ । रेड, ह्वाइट, ब्ल्याक, ग्रे र ब्ल्यु गरी ५ वटा कलरमा स्कुटर बजारमा उपलब्ध छ ।

नेपाली बजारमा बिगत साढे ३ वर्षदेखि न्यू ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्री भइरहेका छन् । कम्पनीको आफ्नै शोरुम काठमाडौंको दरबारमार्ग र पोखराको नयाँबजारमा छ । बुटवल, चितवन र बिर्तामोडमा डिलर नेटवर्क विस्तार गरी कम्पनीले न्यु ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री गरिरहेको छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

यो स्कुटरको प्रयोगबाट वातावरण र पैसा मात्र नभएर पेट्रोलका लागि लाइनमा बस्ने समय पनि बचत हुने डाइरेक्टर राजभण्डारीले बताउँछन् । यो ब्राण्डमा भएको पावरफुल टर्कले ट्राफिक जाम कम गर्न मद्दत गर्ने कम्पनीको दावी छ । नेपालमा पहिलो नम्बर प्लेट प्राप्त विद्युतीय स्कुटर पनि न्यू हो । ग्राहकको सुविधा लागि ‘क’ वर्गका बैंकहरुबाट सहज, सरल तथा न्युनतम ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको राजभण्डारीले जानकारी दिए ।

जर्मन कम्पनीद्वारा उत्पादित BOSCH को मोटर र जापानी कम्पनीद्वारा उत्पादित Lithium Ion PANASONIC ब्याट्री भएको न्यु स्कुटरप्रति नेपाली ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । आगामी दिनमा इलेक्ट्रिक साइकलसहित स्कुटरका अन्य मोडलहरु पनि नेपाली बजारमा सार्वजनिक गरिने उक्त अवसरमा राजभण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?