एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा छौं : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरित गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई आफूहरुले गुम्न नदिने बताए । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए ।

उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा छौं । हामी जित्छौँ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ? यसको कुनै अर्थ छैन । मुल पार्टी हामी नै हौं, यसको वैधानिकता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?