इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिनँ : निवर्तमान डेपुटी गभर्नर शिवाकोटी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान डेपुटी सिइओ चिन्तामणी शिवाकोटीले पाँच वर्षे डेपुटी गभर्नर सहित ३३ वर्षे सेवाबाट निवृत भएका छन् । विदाई हुँदा उनले भावुक हुँदै ३३ वर्षसम्म राष्ट्र बैंक हुँदाको अनुभवसहितको अभिव्यक्ति दिएका छन् ।

उनले राष्ट्र बैंकबाट विदा हुँदै गर्दा राखेको अभिव्यक्ति आफ्नो फेसबुक पेजमा पनि पोष्ट गरेका छन् । हेरौँ, शिवाकोटीका अनुभवसहितको अभिव्यक्ति उनकै भनाईमा :

“सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु । ५ वर्ष डेपुटी गर्भनरसहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिन र स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिन । वित्तीय स्थायित्व कायम गर्ने नेपाल राष्ट्र बैंकको उद्धेश्य पुरा गर्न र दण्डहिनता तोड्न मैले निष्ठापूर्वक कार्य गरे । मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुलधारमा राखेर पद्धति अनुरुपको कार्यलाई पक्षपोषण गरे ।

केन्द्रीय बैकको अस्मिता चीरहरण हुन खोज्दा यस्को स्वायत्तताको रक्षार्थ आवाज उठाइ रहे । समग्र वित्तीय क्षेत्र र कार्यरत संस्थाको हीतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालाहरु बीच समन्वय र सहकार्य मार्फत उल्लेखनिय अनुभव हासिल गरे । कर्मचारी मित्रहरु र सेवाग्रहीहरु सँग सकेसम्म उदारतापूर्वक मित्रवत व्यवहार गरे । सानो चित्त गरिन । पटक पटक म माथि आरोप, प्रत्यारोपका प्रयत्नहरु भए तर म कहिल्यै निराश र हतोत्साही भइन बरु ती झुटका पुलिन्दाहरुले उल्टै मलाई अग्रगमनका लागि उर्जा प्रदान गरे ।

विदाइको यो संघारमा मलाई जिम्मेवारी दिने र सो पूरा गर्न सहयोग गर्ने नेपाल सरकार र नेपाल राष्ट्र बैकप्रति सदा आभारी छु । मेरो कार्यकालमा मलाई सहयोग गर्ने र सद्भाव राख्ने गभर्नरज्यूहरु र सञ्चालकज्यूहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, बैंकरहरु, दातृ निकाय, सरोकारवाला संघ संस्था, पत्रकार बन्धुहरु र शुभेच्छुकहरुलाई अन्तरआत्मा देखिनै धन्यवाद दिन चाहान्छु । निर्णय तहमा रहेर काम गर्दा सबैको चित्त बुझाउन नसकिएको हुन सक्छ । म बाट जान अन्जानमा कुनै कमी कमजोरी भएको भए वा मेरो कामकारवाहीबाट कसैलाई चोट पुगेको भए माफी चाहान्छु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?