धनगढी-टेकसिँह । धामी कैलालीको धनगढीमा देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार सेवा केन्द्र सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको पहलमा अमेरिकी जनताको सहयोगमा अमेरिकन राजदूतावासको करिब ११ करोड लागतमा सो रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आउन लागेको हो ।
रेडक्रस कैलालीका सभापति उत्तम जोशीका अनुसार सुविधा सम्पन्न रक्त सञ्चार सेवा केन्द्र तीन महिना भित्र सञ्चालनमा आउने भएको हो । उनले दुई तले भनवमा सञ्चालन हुने र रक्त सञ्चार सेवा केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पुरा हुने बताए । रेडक्रस कैलालीका सभापति जोशीले भने, ‘हामीले नेपाल सरकारको प्रतिवद्धता अनुसारको मापदण्डलाई यो सेवा केन्द्रमा पालना गरेर सञ्चालनको तयारी गरेका छौँ।’
सुदूरपश्चिमका जनतालाई सहज र सहुलियतमा रगत उपलब्ध गराउने मात्र नभएर विपतका बेला देशभर नै सेवा प्रवाह गर्ने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइन लागेको सभापति जोशीले बताए। सरकारी अस्पतालमा उपचाररत गरिब र कमजोर आर्थिक अवस्था भएका बिरामीलाई निशुल्क रुपमा ‘ब्लड’ उपलब्ध गराउने उद्देश्यसहित रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आउन लागेको हो ।
सुदूरपश्चिम प्रदेशकै पहिलो अत्याधुनिक यो सेवा केन्द्र काठमाडौंपछिको दोस्रो भएको सभापति जोशीले जानकारी दिए। हाल टिकापुर क्षेत्रमा वार्षिक करिब १५ सय पिन्ट रगत निशुल्क वितरण गर्दै आइरहेको कैलाली रेडक्रसले आगमी दिनमा यो सेवा अझै विस्तार गर्ने लक्ष लिएको छ। मानवीय सेवामा अग्रणि भूमिकामा रहने रेडक्रसका लागि यो सेवा केन्द्र सञ्चालनमा भने केही चुनौति रहेको सभापति जोशीले बताए ।
उनले भने, ‘हाम्रो उद्देश्य र लक्ष बिरामी दुःखीलाई सहज र सहुलियत होस् भन्ने हो । यसमा प्रदेश सरकार, केन्द्र सरकार र सरकारका सबै अंगको सदभाव तथा सहयोगको अपेक्षा हामीले गरेका छौँ। कैलाली रेडक्रसले भूकम्प, बाडीपहिरो, डुबान कटानका कारण विपदमा परेका नागरिक मात्र होइन विश्व महामारीका रुपमा पैलिएको कोरोना संक्रमण न्यूनिकरणमा पनि अग्रणि भूमिका निर्वाह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया