सरकार र विप्लव समूहबीच वार्ता हुँदै , यस्ता छन् विप्लव समूहका ३ शर्त !

लोकपथ
0
Shares

काठमाडौं – दुई वर्षदेखि सरकारी प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले पहिलो पटक औपचारीक रुपमा वार्ताको लागि आह्वान गर्दै वार्ता टोली गठन गरेको भोलिपल्ट आज बुधवार सो समुह र सरकारबीच वार्ता जारी छ। तर वार्ता भइरहेको स्थलबारे भने जानकारी दिईएको छैन ।

वि.सं २०७५ फागुनदेखि प्रतिबन्ध लगाएर धरपकडको निर्देशन दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्ताको लागि अनौपचारिक रुपमा ‘शान्ति प्रक्रियामा फर्किन’ आह्वान गर्दै आएको भएतापनि औपचारिक रुपमा भने सरकार र विप्लव समूहको वार्ताको साइत जुरेको थिएन । बालुवाटार स्रोतले भन्यो, ‘यसपटक औपचारिक रुपमा सरकारले वार्ताका लागि विप्लव समूहलाई बोलाएको हो। ‘

सरकारले हिजो (मंगलवार) गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने प्रतिबन्धित नेकपासँग वार्ता समिति गठन गरेको खबर बाहिरिएसँगै विप्लव समूहको नेकपाले पनि टोली गठन गरेको जानकारी सार्वजनिक गरेको थियो।

विप्लव नेतृत्वको नेकपाले सार्वजनिक गरेको वार्ता टोलीमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लव समूहका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरिएको छ । विप्लव समूहले मंगलवार प्रेस विज्ञप्तिमार्फत् वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।

सर्वत्र चासो !

दुवै तर्फ वार्ता टोली गठन गरी सार्वजनिक गरिएसँगै अन्तत: भूमिगत गतिविधि गर्दै आएका विप्लव समूहसँग वार्ता गर्न भन्दै लामो समयदेखि थालिएको प्रयास पूरा हुने भएको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आएसँगै केहि दिन पर धकेलिएको सरकार र प्रतिबन्धित विप्लवसँगको वार्तालाई आम नागरिकले पनि निकै चासोपूर्वक हेरेका छन् ।

के छन् विप्लवका शर्त ? 
भूमिगत गतिविधि गर्दै आम नागरिकको जिउज्यान र सुरक्षामा जटिलता थपेको, व्यक्ति हत्या हिंसात्मक विष्फोटमा संलग्न भएको विप्लव समूहले सरकारसँग वार्ताका लागि मूख्य तीन शर्त र माग अघि सार्दै आएको छ ।

१. प्रतिबन्ध फुकुवा : (सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो)

२. नेता कार्यकर्ताको रिहाइ : (नेपाल प्रहरीको तथ्यांक अनुसार विप्लव समूहका १३४ जना नेता/कार्यकर्ता जेलमा छन् गएको फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका थिए । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सो समूहका शीर्ष नेतामध्येका हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला पनि जेलमा छन् ।)

३. हालसम्मका सबै मुद्दा खारेज : विस्फोट, कर्तव्य ज्यान, अपहरण, चन्दा आतंकलगायतका अभियोगमा जेलमा रहेका सो समूहका नेता/कार्यकर्तामाथि विभिन्न मुद्दा छ । प्रहरीका अनुसार विप्लव समूहका १८ जना नेता कार्यकर्ताको मुद्दा अनुसन्धानको क्रममा छ ।

सरकारसँग औपचारिक वार्ताको पहल जारी रहेको, वार्ता टोली बनेको र आफूहरु संवादमा बस्न सकारात्मक रहेको विप्लव समूहका एक नेता बताउँछन्।

के छ सरकारको मूड ?
सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधीमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्ध र मुद्दा फिर्ताको प्रक्रिया वार्तासँगै अघि बढ्ने बताएका छन्। सञ्चार मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले कसरी जाने, के गर्ने भन्ने कुरा वार्ताबाटै टुंग्याउने बताउँदै थपे, ‘उहाँहरुमाथि लागेका मुद्दा, हतियारको व्यस्थापनको टुंगो गर्नका लागि वार्ता टोली गठन गरिएको हो । सबै कुरा वार्ताअघि गर्ने हो भने वार्ताको औचित्य समाप्त हुन्छ।’

बितेको केही समययता विप्लव नेतृत्वको नेकपा र सरकारी टोलीबीचको अनौपचारिक संवाद बाक्लो बनेको बालुवाटार स्रोत बताउँछ।

विप्लवसँग वार्ताका लागि गठित टोलीमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चन्द समूहसँग सरकारको सम्पर्क भइरहेको उल्लेख गर्दै दुवै पक्षबीच निकट भविष्यमै वार्ता हुने हिजो बताएका छन् ।

को हुन् प्रकाण्ड र चलाउने ?
विप्लव समूहले सरकारसँगको वार्ताको जिम्मा सुम्पिएका प्रकाण्ड हाल भूमिगत अवस्थामा छन् । विप्लव समूहको सचिवालय सदस्य प्रवक्ता रहेका उनी पूर्वमन्त्री समेत हुन्। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा (२०६५ भदौमा) प्रकाण्ड पर्यटनमन्त्री भएका थिए । तर माओवादी फुटेपछि मोहन वैद्य किरण पक्षमा गएका प्रकाण्ड विप्लव समूहको दोस्रो वरियताको नेता हुन् । उनी पटक – पटक प्रहरी गिरफ्तारीमा परेका छन् ।

जनयुद्धमा जनसेना थिए चलाउने
सरकारसँग वार्ताको जिम्मा पाएको टोलीमा रहेका अर्का सदस्य हुन् – दीपक चलाउने । पूर्व लडाकु कमान्डर उदयबहादुर चलाउने ‘दीपक’ विप्लव समूहका केन्द्रीय सदस्य हुन् । यसअघि खासै नाम नसुनिएका उनी जनयुद्धमा जनसेना थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?