थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिद प्रक्रिया शुरु

काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।

आज (मंगलवार) प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उनले बताए ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताए ।

डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई छ । पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्ववति महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?