काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।
आज (मंगलवार) संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोली बुधवारदेखि नै दलका नेताहरुसंग छलफल शुरु गर्ने बताएका हुन् ।
संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।
सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसंग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।
उनले भने “स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दैछौ । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो खल्लो भएको थियो अहिले सबै उत्साहीत हुनुुहुन्छ । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सबै पक्षसंग, पार्टीका नेताहरुसंग, कार्यव्यस्था परामर्श समिति पनि छ , सबैसंग विचार, विमर्श,परामर्श गर्दैछु भोलीदेखि तालिकाबद्ध रुपमा ।’
संसदको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाई, व्यवस्थापन लगायत तयारीका काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया