रघुजी पन्तविरुद्ध कलाकारहरुको आक्रोस, कसले के भने ? (भिडियो रिपोर्ट)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा कलाकार कोमल वली यतिवेला चर्चाको शिखरमा छिन् भने नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त आलोचनाको शिखरमा छन् ।

नेता पन्तले गत शनिवार दिएको एउटा विवादित अभिव्यक्तिले उनलाई आलोचनाको शिखरमा पु-याएको हो । पन्तले सांसद कोमल वलीले पिडुँला देखाएर राष्ट्रियसभा सदस्य र नेकपाको केन्द्रीय सदस्य पाएको आक्षेप लगाएका थिए । उनले भनेका थिए, ‘कोमल ओलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो । कपाल फुलेर चाउरी परेका बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।’

यद्यपि उनले यस विषयमा कोमल वलीसँग माफी समेत मागिसकेका छन् । तर पनि उनको आलोचना हुने क्रम भने रोकिएको छैन ।

सांसद वलीले नेता पन्तलाई निच नेताको संज्ञा दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ।पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ।’

वलीले अर्काे पनि  स्टाटस लेखेर पन्तको अभिव्यक्तिप्रति आपत्ती जनाएकी छन् । उनले नेता पन्तको शारिरीक बिकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको भन्दै तिप्पणी गरेकी छन् ।

उनले लेखेकी छन्, ‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ, यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

यस विषयमा नेपाल चलचित्र कलाकार संघले पनि आपत्ती जनाएको छ । संघका अध्यक्ष रवीन्द्र खड्काले विज्ञप्ती जारी गर्दै नेता पन्तले दिएको अभिव्यक्ति निकृष्ट, खेदजनक र हिंसायुक्त रहेको भन्दै आपत्ति जनाएका छन् । ‘कला जगतमा एउटा राम्रो छवि बनाइसक्नु एक कलाकर्मी त्यस्मा पनि देशको एक सम्मानीत नारी लाई लिएर तल्लो स्तरमा ओर्लेर जून शब्द प्रयोग गर्नु भएकोले मलाई मात्रै हैन हाम्रो सिगो क्षेत्रलाई नै चिन्तित तुल्याएको छ, तसर्थ कुनै पनि रिस, आवेगमा पनि कलाकर्मीको चरीत्र हत्या हुने खालका अपशव्द प्रयोग कसैले पनि नगर्न नगराउन पनि हामी जोडदार अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ।

चलचित्र निर्माता आकाश अधिकारीले पनि कसैको चरित्र हत्या गर्न नपाइने उल्लेख गर्दै कोमल वलीले आफ्नो लोकप्रियता र सक्षमताले सांसद पद पाएको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन, ‘तपाईंजस्तो ब्यक्तिबाट यस प्रकारको तूच्छ सोच र शब्दको अपेक्षा हामी जनताले गरेका थिएनौं माननीय रघुजी पन्त ज्यु ! पोइला जानपाउँ लोकप्रिय लोकगीत गायकै भरमा यो आरोप हो भने ! रमाइलो हाम्रो संकृति–परम्परा, गाईजात्राका प्रस्तोता कलाकारलाई कस्तो लाल्छना लगाउनु होला ?‘

यस्तै महानायिका करिष्मा मानन्धरले पनि नेता पन्तको अभिव्यक्तिप्रति आपत्ती जनाएकी छन् । उनको शब्दमा अपराधीक मानसिकता देखिएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो !’ मानन्धरले भनेकी छन, ‘पहिला आफुले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ ।छोरीचेली बारे केही बोल्दा अफ्नि जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस ।’

अर्की अभिनेत्री वर्षा सिवाकोटीले पनि महिलाहरु प्रधानमन्त्री, राष्टपति हुँदै अन्तरिक्षसम्म पुग्दा पनि कतिपयको मानसिकता नबदलिएको तिप्पणी गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘धेरै संघर्ष पछि आएको परिवर्तन हो यो, केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन। तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिका अझै मानसिक बिकास हुन भने बाँकी रहेछ, बिश्वास भयो ।’

प्रस्तुत छ, यसै विषय तयार पारिएको विस्तृत भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?