टेकसिँह धामी/ कैलाली । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई जेलमा राखिरहने तागत अब कसैसँग नभएको बताएका छन् । आज (मंगलवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले चौधरीलाई रिहाई नगरे आन्दोलन शुरु हुने बताएका हुन् ।
महतोले भने, ‘रिहाई नगरे जेल भराउ आन्दोलन शुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशमलाई जन्मकैदको फैसला भएको थियो । घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए । अहिले उनी जेलमा छन् ।
पत्रकार सम्मेलनमा नेता महतोले जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने पनि बताए । ‘जसपा तत्काल सरकारमा जादैन,’ उनले भने, ‘अहिलेसम्म कम्युनिष्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तो बेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन । अहिले कांग्रेस पनि सरकारमा सहभागी हुन जाँदैन होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया